नारायणी माध्यमिक विद्यालयलाई जयश्री राईस मिल्सद्वारा अल्ट्रा भाइलेट पानी शुद्धीकरण मेसिन सहयोग

जेठ २५, २०८३। नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शुद्ध पिउने पानीको व्यवस्था सुदृढ बनाउन जयश्री राईस मिल्स प्रा.लि., गैंडाकोट–९ ले अल्ट्रा भाइलेट (UV) पानी शुद्धीकरण मेसिन सहयोग गरेको छ।

सोमबार आयोजित एक कार्यक्रममा जयश्री राईस मिल्स प्रा.लिका म्यानेजर अमित अग्रवालले उक्त मेसिन विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमनाथ सापकोटा तथा शिक्षक अभिभावक संघ अध्यक्ष छविलाल सापकोटालाई हस्तान्तरण गर्नुभयो।

विद्यालय प्रशासनले सहयोगप्रति आभार व्यक्त गर्दै यस मेसिनले विद्यार्थीहरूलाई सुरक्षित तथा शुद्ध पिउने पानी उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। विद्यालयका अनुसार स्वच्छ खानेपानीको पहुँचले विद्यार्थीहरूको स्वास्थ्य संरक्षणमा प्रत्यक्ष योगदान पुग्नेछ।

जयश्री राईस मिल्स प्रा.लिले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। विद्यालय परिवारले विद्यार्थीहरूको हितलाई केन्द्रमा राखेर गरिएको यस सहयोगका लागि कम्पनी परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ सापकोटाले निजी क्षेत्रबाट प्राप्त यस्ता सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। साथै आगामी दिनमा पनि यस्ता सहकार्यहरू निरन्तर रहिरहने अपेक्षा व्यक्त गर्नुभयो।

नारायणी माध्यमिक विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ वातावरणलाई अझ प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विकासका कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। जयश्री राईस मिल्सबाट प्राप्त अल्ट्रा भाइलेट पानी शुद्धीकरण मेसिनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

Scroll to Top