नारायणी माध्यमिक विद्यालयमा स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार १, २०८२

स्थानीय स्काउट गैंडाकोट नगरपालिकाको आयोजनामा नारायणी माध्यमिक विद्यालयमा सोमबार स्काउट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा स्काउटको उद्देश्य, महत्व, अनुशासन, नेतृत्व विकास तथा सामाजिक सेवासम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा गैंडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तथा उपसचिव खेमप्रसाद आचार्यले विद्यार्थीहरूलाई प्रेरणादायी उत्प्रेरणा प्रदान गर्दै अध्ययनसँगै अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासका लागि स्काउट गतिविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

स्थानीय स्काउट गैंडाकोटका प्रमुख आयुक्त दयाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा स्काउटप्रति रुचि तथा सकारात्मक सोच विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खेमप्रसाद आचार्य, स्थानीय स्काउटका प्रमुख आयुक्त दयाराम पौडेल लगायत सम्पूर्ण स्काउट टोलीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, सामाजिक सेवा भावना तथा राष्ट्रप्रतिको जिम्मेवारी बोध विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Scroll to Top